स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

मन्त्री तामाङले सार्वजनिक गरेको विवरण अनुसार उनी र उनकी श्रीमती उषाकला राईको नाममा सिन्धुपाल्चोक र मोरङका विभिन्न १४ स्थानमा जग्गा जमिन छन्। तामाङको मात्रै सिन्धुपाल्चोकको सिन्धुकोट र मेलम्चीमा गरी झन्डै १८ रोपनी जग्गा रहेको छ । यस्तै, २२ तोला सुन रहेको बताइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमै कानुनमन्त्री हुँदा तामाङले काठमाडौंको गोकर्णेश्वरीमा साढे ३ आनामा बनेको एक तले घर, ३० तोला सुन, सिन्धुपाल्चोकमा केही जग्गा र श्रीमती उशाकला राईको नाममा मोरङमा भएका जग्गाहरुको विवरण सार्वजनिक गरेका थिए।

यस्तै, तामाङको एभरेष्ट बैंक सिंहदरबार शाखामा तलब भत्ता बापतको २ लाख १६ हजार १ सय २५ रुपैयाँ रहेको भने श्रीमती राईको दुईवटा बैंकमा १ लाख ६ हजार २ सय २५ रुपैयाँ रहेको छ । तामाङको विभिन्न कम्पनीमा ५ लाख रुपैयाँको शेयर रहेको छ भने श्रीमती राईको नाममा १५ लाख रुपैयाँको शेयर रहेको छ ।

कानुनमन्त्री छँदा सार्वजनिक गरेको सम्पत्ति विवरणमा ७० लाख रुपैयाँ ऋण रहेको उल्लेख थियो । तर, यसपटक भने ऋण ३५ लाखमात्र भएको उल्लेख छ। कृषि विकास बैंकमा १६ लाख रुपैयाँ ऋण रहेको र अन्यमा १९ लाख ऋण भएको उनले उल्लेख गरेका छन्।

अन्तिम पटक अध्यावधिक गरिएको 100 Viewed

प्रतिक्रिया दिनुहोस्